प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथमा लिएर हिड्न सरकार तयार छः उर्जामन्त्री खड्का


२९ श्रावण २०८२, बुधबार १२:४१ मा प्रकाशित


काठमाडौं ।
उर्जामन्त्री दीपक खड्काले प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथ लिएर हिँड्न सरकार तयार रहेको बताउनुभएको छ ।


राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलविद्युत क्षेत्रका पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि बढाउन तयार रहेको बताउनु भयो । मन्त्री खड्काकाअनुसार विद्युत् उत्पादन क्षमता हेरेर प्रशारण लाइन निर्माणमा लाग्नुपर्छ ।

कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत प्रशारण लाइन निर्माण गर्नुपर्ने बताउँदै उहाँले जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्ने बताउनु भयो ।

मन्त्री खड्काले जलविद्युत उत्पादन गर्दै गर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री खड्काकाअनुसार भारत–चीन दुई छिमेकी मुलुकबाट ऊर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्छ । विद्युत्को माग दिनानुदिन बढ्दै गएको छ, अब उत्पादन बढाउन लाग्नुपर्छ ।  


ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई लिएको बताउँदै दश वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको बताउनु भयो । खड्काले  सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जा क्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको स्पष्ट पार्नुभयो । सरकार ऊर्जा क्षेत्रलाई तिब्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाइ थियो ।
 
लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवालीले चारवर्षभित्रमा प्रशारण लाइनका पूर्वाधारहरु अघि बढाउने जतिपनि लक्ष्य छन् तिनलाई समयमै पूरा गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनीसहित विद्युत् प्राधिकरण नेतृत्व लाग्नुपर्ने बताउनु भयो । उहाँले लक्ष्य बनाएर परियोजनाहरु शुरु गरी समयमै सम्पन्न गर्न सकेमात्रै अबको समृद्धिको यात्रा बिजुली मार्ग बन्नसक्ने बताउनु भयो ।


कार्यक्रममा ऊर्जा सचिव एवं राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ग्रिड कम्पनीलाई देशको समग्र प्रशारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रूपमा विकास गरी देशको ऊर्जा आपूर्ति र ऊर्जा व्यापारको सशक्त संवाहक बनाउन जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here