शिवसताक्षीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य रथयात्रा हुने, विभिन्न कार्यक्रमको आयोजना


२१ श्रावण २०८२, मंगलवार १८:०८ मा प्रकाशित

शिवसताक्षी । श्री सनातन धर्म संम्वर्धन संस्था शिवसताक्षीको आयोजनामा यस वर्षको श्रीकृष्ण जन्माष्टमी (२०८२) को अवसरमा विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने भएको छ ।

संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पण्डित माधव शरण अधिकारीले श्रावण ३१ गते विशेष पूजापाठ तथा महा आरती भजन किर्तन र भाद्र १ गते दिउँसो ठिक १ बजेदेखि हनुमान मन्दिर शिबगञ्ज बजारमा रथयात्रा आयोजना गरिने जानकारी दिनुभयो ।

रथयात्रामा श्रीकृष्ण भगवानको भव्य रथ यात्रा, धार्मिक झाँकी, बाजागाजा, भजन किर्तनसहित नगर परिक्रमा गरिनेछ । श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिताले यस पटकको जन्माष्टमी कार्यक्रमलाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ भने सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिने आयोजक संस्थाले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सिक्किम पासवान, वडा नम्बर ६ का वडाध्यक्ष मनोज खुलाल कार्की लगायत विभिन्न वडाका जनप्रतिनिधि, धार्मिक अगुवा, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

उनीहरूले यस्तो प्रकारको धार्मिक र सांस्कृतिक कार्यक्रममा नगरवासीको सक्रिय सहभागिताले समाजमा धार्मिक सहिष्णुता, सद्भाव र एकता सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । संस्थाले सम्पूर्ण नगरवासी, श्रद्धालु एवं धर्मप्रेमीहरूलाई समयमै उपस्थित भई कार्यक्रममा सहभागी भई धार्मिक चेतना र भक्ति भाव प्रकट गर्न आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here