निर्माणाधिन संसद भवनको कार्यप्रगतिबारे सांसदहरु निराशः पुस १६ भित्रै सकिने छैन आधार


२० श्रावण २०८२, सोमबार १५:२० मा प्रकाशित


काठमाडौं । सांसदहरुले निर्माणाधिन संसद भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।


सोमवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरुले यस्तो आशंका गरेका हुन् । सरकारले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप गरेको छ । तर फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै सकिन समय लाग्ने उनीहरुको अनुमान छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अनुगमन गर्ने क्रममा अझै धेरै कामहरु गर्न बाँकी रहेको सांसदहरुले बताए । समितिका सभापति मायाप्रसाद शर्माले अझै धेरै काम गर्न बाँकी रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गर्नुभयो ।

अब म्याद पुनः थप्ने गरी काम हुनु नहुने भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराउनु भयो । काममा धेरै नै ढिलासुस्ती भइरहेको आरोप लगाउनु भयो ।

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले पछिल्लो समय थपिएको पुस १६ गतेसम्ममा पनि काम सकिन गाह्रो रहेको बताउनु भयो । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो होला ? भन्दै प्रश्न गर्नुभयो । 

नयाँ निर्माणाधिन संसद भवन निर्माण आयोजनाका निर्देशक सुनिलकुमार ठाकुरले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप भएको र त्यहीअनुसार काम अघि बढिरहेको बताउनु भयो । सिभिलका काम सकिसकेको र अब फिनिसिङका काम मात्रै रहेकाले त्यसका लागि आवश्यक सामग्रीहरु पनि जोहो भइसकेकाले समयमै सकिने विश्वास व्यक्त गर्नुभयो ।


सांसदहरुले सबैले जिम्मेवारी लिइ ताकेता गरेर भएपनि छिटो भन्दा छिटो सम्पन्न गराउने काममा लाग्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here