काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनु भयो ।
वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताउनु भयो । गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराउनु भयो ।
आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताउनु भयो । आन्दोलनमार्फत आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताउनु भयो । उहाँले अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताउनु भयो । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउनु भयो । काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको बताउनु भयो ।






