आज नागपञ्चमी पर्व मनाइँदै


१४ श्रावण २०८२, मंगलवार १०:०३ मा प्रकाशित


काठमाडौं । आज नागपञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ ।

सो अवसरमा  मंगलवार (आज)  काठमाडौंको नक्शाल, सुन्धारा लगायत नागपोखरीहरुमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरुमा पनि नागको पूजा गर्न भक्तजनहरु जम्मा भएका छन् ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here