बिर्तामोड । प्रहरीले झापामा गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ गरेको छ ।
भद्रपुर–५ मा आज दिउँसो प्रहरीले गोली चलाएर भारतीय नागरिक किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ गरेको हो ।
शनिबार दिउँसो अन्दाजी ३:४५ बजे लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको हो । कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो । उनको साथबाट करिब १२० ग्राम ब्राउनसुगर बरामद भएको छ घाइते भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको प्रहरीले जनाएकोछ ।
झापा प्रहरीले यस अघिपनि भद्रपुरमा गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ गरेको थियो ।






