साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्छौंः मन्त्री महर्जन


११ श्रावण २०८२, शनिबार १६:२७ मा प्रकाशित


काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण शुरु गरिने बताउनुभएको छ ।


शनिवार वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै शुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताउनुभएको हो ।

गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’ मार्फत सार्वजनिक गरिएको थियो । उक्त सेवा शुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको भनाइ छ ।

उहाँले नागरिकहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

वागमती प्रदेशबाट शुरु भएको यो डिजिटल सेवा अब क्रमशः अन्य प्रदेशहरूमा पनि विस्तार हुने मन्त्री महर्जनले जानकारी दिनुभयो । उहाँकाअनुसार सातैवटा प्रदेशले आगामी वैशाखदेखि आ—आफ्नै प्रदेशबाट लाइसेन्स छाप्ने तयारी गरिरहेका छन् । जसको शुरुवात वागमती प्रदेशले गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here