पाउलोनिया प्रति किसानको आकार्षण बढ्दै, झापामा यो बर्ष ६० हजार विरुवा उत्पादन


१८ श्रावण २०७६, शनिबार १६:३९ मा प्रकाशित

झापा । झापा लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा बहुउपयोगी रुख प्रजातिमा पर्ने पाउलोनियाको खेती तर्फ किसानको आकार्षण बढ्न थालेको छ ।

चिन र जापानमा धेरै खेती हुने बहुउपयोगी पाउलोनियाको खेती तर्फ किसानको आकार्षण बढ्न थाले पछि झापामा यसको व्यवसायिक रुपमा विरुवा उत्पादन शुरु गरिएको छ । निरोगी विरुवा बनाउँन टिष्यू कल्चर प्रविधिबाट पाउलोनियको विरुवा उत्पादन गर्न थालिएको गौरादह नगरपालिकामा रहेको फाइकस बायोटेकका संचालक तथा जैविक प्राविधिक दुर्लभ कार्कीले बताए ।

छिटो बढ्ने पाउलोनियाको काठ, घाँस, फुल समेत उपयोगी हुने र अन्य रुखले भन्दा चाँडो र धेरै आम्दानी हुने भए पछि जानकार किसानले यसको खेती गर्न थालेका हुन् । गत बर्ष देखि किसानले यसको माग गर्न थाले पछि यो बर्ष ६० हजार विरुवा उत्पादन गरी विक्री गर्न थालिएको छ । प्रति गोटा एक सय रुपयाँका दरले अहिलेसम्म ३० हजार विरुवा विक्री भइसकेको छ । यो विरुवा पूर्वी नेपालको इलाम, पाँचथर, झापा, मोरङ्ग, धनकुटा सहित अन्य जिल्लामा समेत लगिएको छ । झापामा पहिलो परिक्षणको रुपमा गौरीगञ्जको ३२ विगाह क्षेत्रमा निर्माण गरिएको ग्रीन फरेष्ट छहारी बनमा पाउलोनियाको ८ सय विरुवा सहित अन्य उन्नत प्रजातिका रुखहरु रोपिएको छ । यसलाई अध्ययन केन्द्र र पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

जापानमा किरी भनेर चिनिने पाउलोनिया नेपालमा २ दशक अघि पहिलो पटक गोदावरीमा रहेको इसुमोडको बागवानी प्रदर्शनीमा रोपिएको थियो । हलुका, बलियो र आगो सहन क्षमता धेरै भएकोले फर्निचर देखि जहाजसम्म उपयोगी काठको रुपमा पाउलोनिया प्रयोग हुने गर्छ । बहुगुणी र उपयोगी भएकाले पाउलोनियाको खेती पूर्वी नेपालमा समेत विस्तार हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here