झापा । सीमा नाकाबाट हुने चोरी, तस्करी लगायत प्रतिबन्धित सरसामान ओसारप्रसार नियन्त्रण गर्ने उद्देश्यका साथ मेची भन्सार कार्यालय काँकडभिट्टाले सञ्चालनमा ल्याइएको ‘एक्स–रे मेसिन प्रयोगविहिन बनेको छ ।
भारतको पानीटंकीसँग जोडिएको काँकडभिट्टा नाकामा मेची भन्सारले यात्रु शाखामा अत्याधुनिक ‘एक्स–रे मेसिन’ जडान गर्दै एकीकृत सुरक्षा चेकजाँच प्रणाली करिब एक वर्षअघि सञ्चालनमा ल्याएको थियो । भन्सारले नाकामा करिब एक करोड लागतमा ‘एक्स–रे मेसिन’ सञ्चालनमा ल्याएपछि भारतबाट नेपाल भित्रिने प्रतिबन्धित सरसामान नियन्त्रण गर्नुका साथै केही उपलब्धि मूलक काम समेत भएको थियो ।
यसअघि पनि सो मेसिन पटक–पटक बिग्रँदै गरेको र बजेट खर्चिएर भन्सारले बनाउँदै पुनः सञ्चालनमा ल्याउँदै गरेका थिए । तर, गत असार २ गतेदेखि बिग्रिएको ‘एक्स–रे मेसिन’ अहिलेसम्म सञ्चालनमा नआउँदा प्रयोग विहीन बनेको छ । यता डेढ महिनादेखि मेसिन बिग्रिएर थन्किएपछि सुरक्षा चेकजाँचमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई समस्या परेको छ । उनीहरू फेरि आँखाकै भरमा सरसामान चेकजाँच गर्न बाध्य छन् । भारतबाट आउने सर्वसाधारण जनताको झोला तथा ब्याग यात्रु शाखामा कर्मचारी र सुरक्षाकर्मीले खोलेर चेकजाँच गर्दा सास्ती झेल्नु परेको छ ।
पूर्वी नाकाको प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेकजाँच गर्न र शङ्कास्पद सरसामानलाई नियन्त्रणमा लिने मेसिन डेढ महिनादेखि बिग्रिएर थन्किदा समेत सम्बन्धित नियकाले सञ्चालन ल्याउन खासै चासो देखाएको छैन । भारत, बङ्गलादेश, भुटानलगायत तेस्रो मुलुकसँग सम्बन्ध जोडिएकाले यो नाका सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशील मानिन्छ ।
यता मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालका अनुसार बिग्रिएको ‘एक्स–रे मेसिन’ बनाउने कि नयाँ ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ । ‘बिग्रिएको मेसिन बनाउँदा धेरै खर्च हुने गरेको छ’, उनले भने, ‘मेसिन बिग्रिदा चेकजाँचमा समस्या हुन थालेको छ, यसको विषयमा चाँडै निष्कर्ष निकाल्नु पर्ने हुन्छ ।’ अहिलेको मेसिन बनाउन २० लाख रुपैयाँ खर्च लाग्ने भन्सारका कर्मचारी बताउँछन् ।





