रोजगारीको लागी कोरिया पठाइदिन्छु भनी ठगी गर्ने गोर्खाका सबिन चितवनबाट पक्राउ


१८ श्रावण २०७६, शनिबार १४:३० मा प्रकाशित

चितवन । वैदेशिक रोजगारीको लागी कोरिया पठाइदिन्छु भनी चितवनका ४ जना सर्वसाधारणलाई ठगी गर्ने गोर्खा पालुङटार नगरपालिका २ स्थाइ घर भइ हाल भरतपुर महानगरपालिका १० मा डेरा गरी बस्ने २७ बर्षीया सविन आचार्यलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीको सिलसिलामा बिदेश पठाइदिन्छु त्यस्को लागी केही अग्रिम पैसा बुझाउनुपर्छ भनी विभिन्न मितिमा स्थानीयलाई बिश्वासमा पारी ८ लाख ३६ हजार रुपैयाँ ठगी गर्ने आचार्यलाई चितवन प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पीडक आचार्यले भरतपुर महानगर ११ बस्ने बर्ष ३९ का दीपक बहादुर क्षेत्रीबाट दुई लाख रुपैयाँ, सोही स्थान बस्ने बर्ष ३१ को भुपेन्द्र योगीबाट २ लाख रुपैयाँ , बर्ष ३५ को मीन बहादुर क्षेत्रीबाट २ लाख ३६ हजार रुपैयाँ , बर्ष ६९ को यम बहादुर गुरुङबाट २ लाख गरेर झन्डै ८ लाख ३६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका आचार्यलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी कसुरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

चोरी गरेको आरोपमा एक जना पक्राउ

यसैबीच, चितवन प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । गत, साउन ०६ गते भरतपुर महानगरपालिका ३ पशुपति मार्ग बस्ने यम कुमारी श्रेष्ठ, सृष्टि हुमागाईं र मोति प्रसाद कंडेलको घरमा चोरी गर्ने नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका ११ बस्ने ४५ बर्षीया टेक बहादुर कुमाल र देवचुली नगरपालिका ७ बस्ने २७ बर्षीया नारायण चापागाईंलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले बाबा ग्यास एक थान , जानकी ग्यास एक थान र मोबाईल एक थान बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको एसपी मल्लले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here