त्रिशुली नदीमाथि बनाइएको नयाँ पुल मंगलबार देखी सञ्चालनमा


१८ श्रावण २०७६, शनिबार १५:१९ मा प्रकाशित

चितवन । चितवनको मुग्लिङ्ग र तनहुँलाई जोड्ने गरी त्रिशुली नदीमाथि बनाइएको नयाँ पुल साउन १४ गतेदेखी सञ्चालनमा आएको छ ।

सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने पुल ढिला गरी निर्माण सकिएर चार दिन अगाडि देखी मात्रै सञ्चालनमा आएको हो । नयाँ प्रविधिमा नेपाली ठेकेदारहरुले नै काम गरेकोले यो पुल बनाउँदा ढिलाई भएर तीनपटक म्याद थप गर्नुपरेको थियो । मुग्लिङ्गमा बनेको १६० मिटर लामो यो पुल राजमार्गमा बनेको पहिलो डबल लेनको आर्क ब्रिज हो । निर्माणमा केही ढिला भएपनि नेपालले यो पुल बाट पर्याप्त अनुभव हासिल गरेको सडक विभागले जनाएको छ । सडक विभागका अधिकारीहरुले यसलाई नेपालकै सबैभन्दा पहिलो दुई लेनको र लामो ‘आर्क ब्रिज’ भनेका छन् ।

नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । ‘४ वर्षभन्दा बढी समय लगाएर बनेको पुल निकै बलियो हुने छ । यस्ले मुग्लिनको पुरानो पुलमा उत्पन्न जोखिम पनि पार लगाएको छ ।’ यो पुलको निर्माण इलाइट एड्भेन्चर लोहनी जेभीले गरको हो । यो नेपाली ठेकेदार कम्पनी नै हो । डिजाइन एन्ट मल्टि मोडलमा बनेको पुलको डिजाइन पनि नेपाली ठेकेदारले नै गर्ने गरेका हुन् । यो पुलमा १२० मिटरको आर्क छ । आर्क ब्रिजको बीच भागमा पिल्लर राखिँदैन । पुलमा पर्ने भार आर्कले नै थेग्छ । पिल्लरको सट्टा पुलको दुईतर्फ अड्याउन प्रयोग हुने ‘अब्यटमेन्ट’ को क्षमता बढाइन्छ । पिल्लर नहुने भएकाले यस्ता पुलहरु नदीमा बाढी आउँदा भासिने लगायतका समस्या हुँदैन ।

करिब १२ करोड खर्चिएर मुग्लिनमा वैकल्पिक पुल तयार भएको विभागले जनाएको छ । केही वर्षअघि मुग्लिनको त्रिशुली नदीको माथिको पुलमा गम्भीर समस्या देखिएको थियो । पुलको पाताहरु फुस्किन थालेपछि नयाँ पुल बनाउने योजना विभागले अघि सारेको थियो । मंगलबार खुला भएपछि पृथ्वी राजमार्ग भएर चल्ने सबै गाडीले नयाँ पुलको प्रयोग गरिरहेका छन् । अबको दशैंपछि पुरानो पुललाई पनि मर्मत गरेर सञ्चालनका लागि योग्य बनाइने बताइएको छ ।

‘पोखराबाट आएका गाडीलाई नयाँ र मुग्लिनबाट पारी पोखरातर्फ जाने गाडीलाई पुरानो पुल प्रयोग गराउने योजना रहेको बिभागले जनाएको छ ।समस्या देखिए पनि त्यसलाई हल गरेर चलाउँदा अझै २० वर्षजति पुरानो पुलमा सवारी गुड्न सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here