राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा ६० दशमलव ५५ प्रतिशत


२१ असार २०८२, शनिबार १०:३६ मा प्रकाशित

लक्ष्मी उप्रेती , २१ असार मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको १० महिनामा (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास)लगायतका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १६ अर्ब १९ करोड १५ लाख १८ हजार रुपैयाँ मुल्य खर्चिएको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य १० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ६० दशमलव ५५ प्रतिशत रहेको छ ।

कार्यालयका सुचना अधिकारी इश्वरकुमार हुमागाईँ भन्सार कार्यालयको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र कोइला आयातमा निर्भर रहेको बताउछन् ।

त्यस्तै दोस्रो धेरै राजस्व भने तरकारी आयातबाट ५८ करोड ३३ लाख १५ हजार रकम प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा तरकारीकोे हिस्सा भने ४ दशमलव ५१ प्रतिशत रहेको छ ।

यातायातका साधन र तिनका पार्टपूजा आयातबाट राजस्व भने ३६ करोड ५३ लाख १९ हजार रकम प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको योगदान भने २ दशमलव ८२ प्रतिशत रहेको छ । कूल राजस्व संकलनमा मुख्यः १० वस्तुहरुको योगदान प्रतिशत हेर्दा यातायातको साधन र पार्टपूर्जाको योगदान भने तेस्रो स्थानमा छ ।

त्यस्तै खनिज उत्पादनबाट भने २४ करोड १० लाख ३० हजार रकम संकलन गरेको छ । जुन राजस्व असुलीमा १ दशमलव ८६ प्रतिशत योगदान रहेको छ । प्लाष्टिकका कच्चा पदार्थ आयातबाट भने २१ करोड ६७ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलनमा यसको योगदान हिस्सा १ दशमलव ८६ प्रतिशत रहेको छ ।

त्यस्तै दलहन आयातबाट २० करोड २९ लाख ९४ हजार राजस्व संकलन गरेको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य १० वस्तुबाट प्राप्त राजस्वको योगदानमा दलहनको हिस्सा भने १ दशमलव ५७ प्रतिशत रहेको छ । कफीबाट राजस्व संकलनमा योगदान १ दशमलव ५० प्रतिशत रहेको छ । कफी आयातबाट १९ करोड ३६ लाख ९० हजार रुपैयाँ संकलन गरेको छ ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपूर्जा आयातबाट १६ करोड ४३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन कुल राजस्व संलनमा १ दशमलव २७ प्रतिशत हिस्सा हो । चालु आवकै १० महिनामा सबै प्रकारका फलफूलबाट १५ करोड ५० लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

फलफूलको राजस्व संकलनमा १ दशमलव १५ प्रतिशत योगदान रहेको छ । फलाम तथा फलामका सामग्रीहरुको आयातबाट कार्यालयले १२ करोड ९६ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसबाट राजस्व संकलनमा योगदानको हिस्सा १ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here