२७ लाखभन्दा बढि खर्चमा निर्माण गरिएको पर्खाल सात महिनामै भत्कियो


१८ श्रावण २०७६, शनिबार ११:५१ मा प्रकाशित

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित माटिकोरे खेल मैदानको भित्तामा निर्माण गरिएको पर्खाल निर्माण गरिएको सात महिनामै भत्किएको छ ।

खेलमैदान तथा सरस्वती माविको भवनको सुरक्षाका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुंगाको २७ लाखभन्दा बढिको खर्चमा गत पुसमा निर्माण गरिएको पर्खाल वर्षाका कारण असार मसान्त ननाघ्दै भत्किएको हो । २०७५ साल पुस १९ गते पूरा गर्ने गरी शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २०७५ साल बैसाख ७ गते सो पर्खाल निर्माणका लागि सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले समय अवधिमै पर्खाल निर्माण गरेर हस्तान्तरण गरेपनि गुणस्तरिय काम नहुँदा निर्माण गरिएको केही समयपछि नै पर्खाल ढलेको हो । खेलमैदानको भित्तामा पर्खाल ठड्याउनका लागि ३१ लाख २२ हजार ९८४ रुपैयाँ बजेट भए पनि शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २७ लाख १ हजार ५५८ रुपैयाँमा ठेक्का लिएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङले जनाएको छ ।

साविकको सदरमुकाम तथा सबैको नजर पर्ने ठाउँकै संरचना ढल्नुले कामको गुणस्तरका विषयमा प्रश्न उठेको छ । जिल्लाका अधिकांश खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएको खेलमैदानको पर्खाल ठडिएको केही समयपछि नै चर्किन थालेको थियो । निर्माण कम्पनीले कमसल सामग्री प्रयोग र गुणस्तरहिन काम गर्दा राज्यको रकम झ्वाम भएको स्थानीयको गुनासो छ । पर्खाल भत्किएर खेल मैदानमा थुप्रिएपछि खेलकुदका गतिविधि सञ्चालनमा समेत असहज भएको छ । बाँकी रहेका संरचनाहरु धाजा फाटेकाले ढल्ने भनेर खतरा बढेर गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here