झापा । पूर्व मेची क्षेत्रका बस व्यवसायमा संलग्न कम्पनीहरूको संयुक्त संस्था पूर्व मेची बस व्यवसायी प्रा.लि. ले व्यवसायमा देखिएका विविध समस्या समाधान तथा अस्वास्थ्य प्रतिस्पर्धाको अन्त्य गर्न सामूहिक सहमतिमा आधारित नयाँ रचनात्मक पहलहरू अघि बढाउने निर्णय गरेको छ ।
धुलाबारीस्थित छहारी रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा, व्यवसायमा भइरहेको अनियमितता, गाडी सञ्चालनको व्यवस्थापन, कर्मचारी समन्वय तथा पारस्परिक विश्वासको अभावबारे गम्भीर छलफल गरिएको थियो । सहभागी व्यवसायीहरूले अब व्यवसायलाई अनुशासित, पारदर्शी र सहकार्यमा आधारित बनाउन सबैको ऐक्यबद्धता आवश्यक रहेको धारणा राखेका थिए।
बैठकमा गाडीको नाम र रङ जुधाएर सञ्चालन गर्ने प्रवृत्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ । यस्ता गतिविधिले यात्रुमा भ्रम सिर्जना गर्ने र व्यवसायिक वातावरणलाई दूषित बनाउने भन्दै यस्ता गाडीहरूको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।
त्यस्तै, पूर्व मेची बस व्यवसायी प्रा.लि.का अन्य मातहतका कम्पनीका गाडी दुर्घटनामा परेको अवस्थामा तत्काल विल भौचर उपलब्ध गराए वापत रु २० हजारसम्म सहयोग गर्ने व्यवस्था लागू गरिने घोषणा गरिएको छ ।
कार्यक्रममा एउटा कम्पनीबाट काम छाडेका ड्राइभर वा कन्ट्याक्टरहरूलाई अर्को कम्पनीले नियुक्त गर्दा ’क्लिनचिट’ प्रणाली अपनाउने सहमति पनि भएको छ । यसले व्यवसायबीचको मनमुटाव अन्त्य गर्दै कर्मचारी व्यवस्थापनमा पारदर्शिता ल्याउने विश्वास व्यक्त गरिएको छ ।
मुख्य बजार क्षेत्रका सबै प्रतिनिधि तथा बस व्यवसायलाई साझा सहमतिमा समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत सो अवसरमा दोहोर्याइएको थियो । कार्यक्रमको अध्यक्षता पूर्व मेची बस व्यवसायी प्रा.लि.का अध्यक्ष राजेन्द्र रिजालले गर्नुभएको थियो। उहाँले व्यवसायिक अनुशासन, पारदर्शिता र आपसी सहकार्यमा आधारित वातावरण निर्माण गर्दै दीर्घकालीन व्यवसाय विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा पूर्व मेची बस व्यवसायी प्रा.लि.का संरक्षक श्रीप्रसाद मैनाली, सगरमाथा यातायात प्रा.लि.का अध्यक्ष नवीन कोइराला, सगरमाथा प्रा.लि.का प्रबन्ध निर्देशक प्रविण थापा, नागरिक यातायात प्रा.लि.का अध्यक्ष मनोज उप्रेती, डल्फिन यातायात प्रा.लि.का अध्यक्ष चिरञ्जीवी रेग्मी, दीप यातायात प्रा.लि.का प्रबन्ध निर्देशक रामचन्द्र आचार्य, दीप यातायात प्रा.लि.का अध्यक्ष कपिल थापा लगायतका विभिन्न कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागी व्यवसायीहरूले यस्ता निर्णयले पूर्व मेची क्षेत्रको बस व्यवसायमा पारदर्शिता, अनुशासन र आपसी समन्वयको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका थिए ।