सुनचाँदी व्यवसायी आन्दोलित : बिर्तामोडका सबै सुन पसल बन्द


३० जेष्ठ २०८२, बिहीबार १२:२० मा प्रकाशित

बिर्तामोड-सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीकाे माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । देशभरका व्यवसायी व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नेतृत्वमा नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासङ्घ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

नेपाल सुन चाँदी व्यवसायी संघ झापाले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको जनाएको छ।

आन्दोलनका कार्यक्रम अनुसार आज झापाको बिर्तामोडस्थित नेपाल रत्न सुपर मार्केटका सबै सुनचाँदी पसल बन्द गरिएका छन् । यसअघि सुनचाँदी व्यवसायीको टोलीले हिजो झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।आन्दोलनका कार्यक्रम अनुसार भोलि विरोध र्याली आयोजना गरिने जनाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष राजु धमलाले उपभोक्तालाई मार पार्ने गरी सरकारले सुनमा विलासिता कर लगाएको बताउनुभयो । व्यवसायी सङ्घ झापाका अध्यक्ष रमेश विश्वकर्माले सम्पत्तिको रूपमा जोड्ने सुनमा विलासिता कर लागू हुनु कुनै पनि दृष्टिकोणबाट न्यायचित नहुने उल्लेख गर्नुभयो ।

सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको थियो । बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शङ्का सल्लाहकार बलराम कार्कीले सुनचाँदी व्यवसायीलाई कर लगाइए पनि उक्त कर उपभोक्ताले तिर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here