ग्लोवल वार्मिङले पग्लायो लाङटाङ, हिमरेखा सरेपछि पर्यटक घटे


३० जेष्ठ २०८२, बिहीबार १२:१३ मा प्रकाशित


काठमाडौं ।
आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न लाग्थे ।

तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउनु हुन्छ स्थानीय पासाङ तामाङ । आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन । २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउनुहुन्छ लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ । 

जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको उनी सुनाउँछन् । उहाँले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

वि.स. २०७२ सालमा आएको बिनासकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशंका छ । उहाँले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरेहको बताउनु भयो । हिमालका रेखाहरुसँगै पर्यटयन व्यवसाय पनि मेटिँदै जाने उहाँको चिन्ता छ । 


लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ ।

सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरुलाई सहभागि  नगराउँदा ति सभाहरु औचित्यहिन बन्दै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here