झापा । झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा बिर्तामोडमा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही जेठ ३१ गतेदेखि हुनेछ ।
संघका अध्यक्ष सन्तोष अग्रवालका अनुसार प्रतियोगितामा झापा जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । प्रतियोगिता जुनियर ब्वाइज/गर्ल्स, सिनियर ब्वाइज/गर्ल्स र सिनियर डबल्स फरमेटमा गर्ने तयारी भइरहेको अग्रवालले बताए ।
बिर्तामोडको बिग ब्रदर स्पोर्टस सेन्टरमा हुने प्रतियोगितामा जिल्लाका करिब २५ वटा विद्यालयका २०० खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगिताका लागि प्याब्सनसँग सहकार्य भइरहेको जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । संघका सदस्य तथा प्रशिक्षक प्रकाश राईका अनुसार कोशी प्रदेशमा झापाले टेबल टेनिस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
प्रतियोगिताको अवलोकनका लागि नेपालको सिनियर र जुनियर दुवै विधामा उत्कृष्ट खेलाडी इभाना थापा र झापाको पहिलो अन्तर्राष्ट्रिय खेलाडी तथा सागमा कास्य पदक विजेता सिक्का सुवाल श्रेष्ठसमेत सहभागी हुने तयारी रहेको छ ।