हजार सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, चार अर्ब खर्च हुने


१७ श्रावण २०७६, शुक्रबार ११:४९ मा प्रकाशित

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका एक हजार सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाइदिने भएको छ ।

उसले यसका लागि आपूर्तिकर्ता पनि छनौट गरिसकेको छ । प्राधिकरणले यसका लागि ९ सय ३० विद्यालयमा यस्तो प्रयोगशाला बनाउनका लागि ३ अर्ब ४७ करोड खर्च गर्ने भएको छ । यो कामका लागि प्राधिकरणले निकालेको टेन्डरबाट सबैभन्दा कम रकम कबोल गर्ने ओविसिआइको नेपाली उपक्रमले ठेक्का पाउने भएको छ । यसका लागि उसले ३ अर्ब ४७ करोड ६९ लाख रुपैयाँमा काम गर्ने छ । बाँकी ३० विद्यालयमा भने प्राधिकरणले अर्कै कम्पनीबाट काम गराउने जानकारी दिएको छ । यो परियोजनाका लागि सबैगरी ४ अर्ब खर्च हुने प्राधिकरणले अनुमान रहेको छ ।

आइटी ल्याबका लागि प्राधिकरणले सातै प्रदेशबाट विद्यालयको छनौट यसअघि नै गरेको र त्यसका लागि कस्तो र कसरी बनाउने भनेर कार्यविधिसमेत बनाइसकिएको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार प्रयोगशालामा २४ वटा कम्प्युटर हुनेछन् । त्यस्तै प्रोजेक्टर, बहुपयोगी प्रिन्टर, राउटर हुनेछन्। त्यस्तै उर्जा सञ्चितिका लागि युपिएस हुने छ भने ब्याट्री पनि हुने छ ।

बिजुलीको सेवा नभएको ठाउँमा सोलार पनि जडान हुने छ । प्राधिकरणले यसको काम सकाएपछि सञ्चालनको जिम्मा भने विद्यालय स्वयम्ले लिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here