काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्वहरु सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको टिप्पणी गर्नुभएको छ ।
आईतवार नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी शक्तिहरु चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानिकन जनतालाई रैति बनाउन लागिपरेको टिप्पणी गर्नुभयो । केही रैतिहरू बिहान–बेलुकी नै पूर्वराजा शाहको वरपर घुमिरहेका समेत प्रधानमन्त्री ओलीको आरोप छ ।
उहाँले नागरिक सर्वोच्चता चाहिदैन भनेर दलालिमा समर्पित केही मान्छेहरुले नागरिकमा असन्तुष्टि बढाएको बताउनु भयो । प्रतिगामी शक्तिहरुले व्यवस्था र संविधान विरोधी काम गर्न सामाजिक सञ्जालमा लगानी गरेको उहाँको आरोप छ ।
सामाजिक सञ्जाल र डिजिटल प्लेटफहरुमा जनतामा असन्तुष्टि, समाजमा नकारात्मक सोच र भ्रम छर्ने उद्देश्यले योजनावद्ध लगानी भइरहेको दाबी गर्नुभयो ।
निर्वाचित वडा अध्यक्षहरुलाई प्रधानमन्त्री ओलीले प्रतिगामी र व्यवस्था विरोधी गतिविधिबाट सचेत रहन र जनतामाझ सत्य कुराहरू राख्न सक्रिय भुमिका खेल्न आग्रह गर्नुभयो ।