अदुवाको मुल्य बृद्धि भएपछि पूर्वि पहाडि जिल्लाका कृषकहरु उत्साहित


१६ श्रावण २०७६, बिहीबार १४:३१ मा प्रकाशित

पाँचथर । गतवर्षको तुलनामा अदुवाको मुल्य यसवर्ष तीन गुणाले बृद्धि भएपछि पूर्विपहाडि जिल्लाका कृषकहरु उत्साहित भएका छन् ।

गत वर्ष दुई हजार रुपैँया प्रतिमनमा बिक्री भएको अदुवा यसवर्ष सात हजार पाँच सय रुपैयाँ प्रतिमनमा विक्री हुन थालेपछि कृषकहरु उत्साहित भएका हुन् । अदुवाको माउ बेच्ने समय सुरु भए सँगै अदुवा व्यापारीहरु अहिले कृषकका घरघरमा पुग्ने गरेका छन् । गत वर्ष भन्दा यस वर्ष अदुवाको भाउ बढेपछि आफूहरु उत्साहित भएको मिक्लाजुङ गाउँपालिका २ का कृषक खगेन्द्र बस्नेतले बताए ।

पूर्वी पहाडि जिल्लामा उत्पादित अदुवाको मुख्य बजार भारत हो । यहाँ उत्पादन भएका अदुवा ९० प्रतिशत झापाको काकडिभिट्टा नाका हुदैं भारत निर्यात हुने गर्दछ । भने १० प्रतिशत बंगलादेशमा निर्यात हुदैं आएको छ । जिल्लाको कुम्मायक र हिलिहाङ गाउँपालिकामा अदुवा उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

जिल्लामा ९ सय ४५ हेक्टर जमिनमा अदुवा खेति गरिने तथ्याङक छ । अघिल्लो वर्ष पाँचथरमा ७ हजार ५ सय ६० मेट्रिकटन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विस्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here