सहयोग जुटाएर एकै घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै


२३ बैशाख २०८२, मंगलवार १०:२८ मा प्रकाशित

तुलसीपुर । आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एका घरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।  

तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन् । मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुनुहुन्छ । सोह्र वर्षीया उहाँ हिँडडुल गर्न पनि सक्नु हुँदैन । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उहाँहरु २०६८ सालमा दाङको तुलसीपुर झर्नुभएको थियो ।

रुपाले भन्नुभयो,“सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमान्ले अर्काे विवाह गर्नुभयो ।” यसपछि रुपालाई श्रीमान्ले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उहाँलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो ।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उहाँहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आउनुभएको थियो । कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा”, गणेशले भन्नुभयो, “लामो समय कसैले पनि बस्न दिएनन् ।

यसरी भाडामा बस्दा पनि पीडा झेलेका उहाँहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुसी छन् । सारङ्गी बजाएर,  गीत गाएर गणेशले आम्दानी गर्नुहुन्थ्यो, त्यसैले घरखर्च चल्ने गरेको थियो । अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताउनुभयो । भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो”, उहाँले भन्नुभयो ।

करिब रु १५ लाख लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताउनुभयो । “सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उहाँको भनाइ छ । यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि रु ४० हजार सहयोग गरिसक्नुभएको छ ।

निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उहाँले बताउनुभयो । दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपिमार्फत अध्ययन गर्छन् । हाल आमा रुपाको खातामा विभिन्न सङ्घसंस्थाको सहयोगमा रु सात लाख सहयोग सङ्कलन भएको थियो । त्यो रकम बैंकमा मुद्दति खातामा छ । त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here