एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैनः शिक्षामन्त्री


२२ बैशाख २०८२, सोमबार १९:३९ मा प्रकाशित


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।


सोमवार प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर जाने गरेपनि भारतसँगको खुला सीमाका कारण एनओसी नलिइ जाने गरेको बताउनु भयो ।

उहाँले कति विद्यार्थी उक्त किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने एकीन तथ्याङ्क मन्त्रालयसँग नभएको बताउनु भयो । विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाले दिएको तथ्याङ्कलाई नै आधिकारिक मान्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ ।

उहाँले एउटै शैक्षिक संस्थामा केही समयको अन्तरालमा विद्यार्थीको मृत्युको घटना हुनुको कारणबारे छानबिन भइरहेको बताउनु भयो । उहाँले घटनाको सत्यतथ्य पत्ता लगाउन विद्यार्थी पठाउने शैक्षिक एजेन्सीसँग सम्पर्क गरी छलफल गर्न मन्त्रालयका अधिकारीहरुलाई आफूले निर्देशन दिएको बताउनु भयो ।


मन्त्री पन्तले उक्त विषयमा शिक्षा तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउन गम्भीर ढंगले लागिपरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here