काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिव ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको बताउनुभएको छ ।
चालु आ.व. को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्शान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्शानीमै रहेको शाक्यले जानकारी दिनुभएको हो ।
श्वेतपत्रअनुसार बाँकी वक्यौतातर्फ २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा गत फाल्गुनसम्म प्राधिकरणको जम्मा वक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
डेडिकेटेड फिडर तथा ट्रकलाइनतर्फको २३ अर्ब ४४ करोडमध्ये पहिलो खण्ड २०७२ श्रावणदेखि पौषसम्मको १ अर्ब ४२ करोड, २०७२ माघ देखि २०७५ वैशाखसम्म ६ अर्ब ११ करोड र २०७५ जेठ देखि २०७७ असारसम्म १ अर्ब १ करोड र चक्रिय जरिवाना रकम ६ अर्ब ९० करोड रहेको छ ।
वक्यौता असुलिको लागि प्राविधिक रुपमा प्रमाण जुटाउनुपर्ने रहेको बताउँदै शाक्यले कतिपय अदालतमा विचाराधिन रहेको जानकारी दिनुभयो ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार संस्थाले खिम्ती जलविद्युत आयोजनाको आजसम्म पनि स्वामित्व हस्तान्तरण गरी नलिएकाले संस्थाको सम्पती तथा दायित्वको यथार्थ यकिन नभएको र सो कारणबाट महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार संस्थालाई आ. व. २०८०/८१ को अन्त्य सम्ममा १२ अर्ब ५८ करोड रुपैयाँको थप दायित्व सृजना हुन जाने श्वेतपत्रमा उल्लेख छ ।