काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउनसक्ने बताउनुभएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै उहाँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताउनु भयो ।
उहाँले नेपालसँग हाइड्रोपावरमात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले केही दिन अघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई बिस्तार गर्दै लैजान सकिने विश्वास गर्नुभयो ।
उहाँले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै उपलब्ध गराएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले आइटी सेक्टरमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपालमा पूर्वाधार, सडक पहुँच लगायतको राम्रो प्रवन्ध रहेको बताउँदै लगानीको लागि अनुकुल वातावरण बनेको समेत जिकिर गर्नुभयो ।