नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल


२ बैशाख २०८३, बुधबार १०:५१ मा प्रकाशित


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । 


‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ । सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताउनु भयो ।

उनीहरू विलासिता मात्र नभइ, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताउनु भयो । यसका लागि नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने उहँँको भनाइ छ ।

सभामुख अर्यालले विश्वभर आरोग्य पर्यटन तिब्र रूपमा विस्तार भइरहेको र यो खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको औँल्याउनु भयो ।

पश्चिमको बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य भएको उहाँको भनाइ छ । उहाँले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने र यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य मोडेल र स्थानीय समुदायको साझेदारी आवश्यक रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here