नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिनुभएको छ ।
शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिईरहेका बेला उहाँले यस्तो चेतावनी दिनुभएको हो । मंगलवार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीहरुमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।
उहाँले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालार्य आ आफनो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिनुभयो ।
सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाईदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । सो काममा आफूलाई सबैको सहयोगको आवश्यक्ता रहेको पनि सभापति थापाको भनाई थियो ।
काँग्रेसले विशेष कारणबश वडा पार्टी कार्यालयमा जान नसक्नेहरुका लागि क्रियाशील सदस्यता अध्यावधिक गर्नका लागि विशेष व्यवस्था गर्ने पनि जनाएको छ । सभापति थापाले काँग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताहरुले सो कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पार्नुभयो ।
पार्टीको सो कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढनु पार्टीका सबै नेता, कार्यकर्ताहरुको दायित्व रहेको सभापति थापाको भनाई थियो ।






