गुमेको शाख फर्काउने नागरिक यातायातको उद्घोष


१४ बैशाख २०८२, आईतवार १५:४४ मा प्रकाशित

धुलाबारी । चुस्त र विश्वसनीय सार्वजनिक यातायात सेवाका लागि पुर्वमा एक समय कहलिएको नागरिक यातायातले गुमेको शाख फर्काउने अठोटका साथ तयारी थालेको छ । नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालीले एक कार्यक्रमकाबिच आफ्नो गुमेको शाख फर्काउने उद्घोष समेत गरेको छ ।

नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालीको झापाको धुलाबरीस्थित छहारी रेष्ट्रोमा आयोजित शेयर सदस्य भेला तथा कर्मचारी अन्तरक्रियाले आफ्नो गुमेको शाख फर्काउने अठोट लिएको हो । चुस्त र विश्वसनीय सेवा दिँदा दिदै ‘राता गाडी’ ले ल्याएको विकृतीको मागमा नागरिक यातायात परिरहेको निष्र्कष छलफलले निकालेको छ । नागरिक यातायातको जस्तै रंग र स्वरुप बनाएर अरु गाडीहरु सञ्चालनमा रहेकाले यात्रुहरुले नागरिक यातायात छुट्याउन नसक्दा समस्या हुने गरेको कर्मचारीको भनाई छ । कार्यक्रममा चालक, सहचालक, परिचालक र सेयर सदस्यहरुले यातायात क्षेत्रमा देखिएका समस्या र विकृतीका विषयहरु उठान गरेका थिए । प्रत्येक स्टेशनमा दादागिरी शैलीमा रकम असुल्ने गरिएको, अनावश्यक रुपमा ट्राफिक प्रहरीले दुःख दिने गरेको जस्ता समस्याहरु विकृतीको रुपमा बढ्दै गएकोप्रति यातायातकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

अन्र्तरक्रिया कार्यक्रमा बोल्दै कम्पनीका नवनिर्वाचित अध्यक्ष मनोज उप्रेतीले नागरिक यातायातलाई आमनागरिककै यातायात बनाउने लक्ष्यका साथ कम्पनीका सवैपक्षसँग छलफल र अन्तरक्रियाको थालनी गरिएको बताउनुभयो । कम्पनीले निकट भविष्यमा नै यात्रुलाई दिने सेवामा वृद्धि गर्नुका साथ सेवालाई चुस्त र विश्वसनीय बनाउन कामको थालनी गरिसकिएको बताउनुभयो ।

कार्यक्रममा सेयरसदस्य, अग्रज यातायात व्यवसायी तथा कोशी प्रदेशसभाका पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले यातायात क्षेत्रमा देखिएका विकृती नियन्त्रण गर्न आवश्यक भइसकेको बताउनुभयो ।

सोही कार्यक्रममा कम्पनीले चैत महिनाका लागि उत्कृष्ट ३ जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । कम्पनीले चालक देवकुमार राई, परिचालक प्रह्लाद अधिकारी र सहचालक दीपक उप्रेतीलाई नगदसहित सम्मान गरेको हो ।

झापाको मेचीनगर–७ काँकडभिट्टामा प्रधान कार्यलय रहेको प्रालीका हाल २४ वटा गाडीहरु सञ्चालनमा रहेका छन् । कम्पनीले केही दिन भित्रै नागरिक यातायातमा जिपिएस सिस्टम जडान गरी यात्रुलाई गाडीको लोकेसनबारे जानकारी दिन लागेको छ । त्यस्तै, फ्रि वाईफाइ लगायतको सुविधा पनि प्रबन्ध गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here