झापा । झापाको शिवसताक्षीमा बुधबारदेखि सुरु १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लब झापाले विजयी सुरुवात गरेको छ ।
इलामको चुलाचुली महिला फुटबल क्लबलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सतासीधामले जित निकालेको हो ।जितका लागि मीना राईले २ गोल गरेकी थिइन् भने मुना लावती र जमुना आले मगरले समान १-१ गोल गरेका थिए । मुनाले पहिलो हाफको १५ औं मिनेटमा जमुनाको क्रस पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको दस मिनेटमा मीना राईको पासलाई जमुनाले गोल गर्दै नतिजा दोब्बर बनाइन् ।
दोस्रो हाफकै १४ र २९औं मिनेटमा मीना राईले २ गोल गरेर फराकिलो नतिजा निकालेकी थिइन् । खेलको वुमन अफ दि म्याच विजेता टिमकी दुई गोलकर्ता मीना राई घोषित भइन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा साउन २२ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत भोलि बिहीबारको खेल मोरङको उर्लाबारी र झापाको पारिजात महिला फुटबल क्लबबीच हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्ले बताए । प्रतियोगितामा झापा, इलाम र मोरङका १० महिला फुटवल टिम सहभागी छन् । विजेताले टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ ।
यसअघिको उद्घाटन कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले नगरलाई विश्वव्यापी रुपमा चिनाउन खेलकुदको अहम् भूमिका रहने बताए। आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जग्गा व्यवस्थापन आयोगका अध्यक्ष राधाकृष्ण खनाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, मदन भण्डारी स्पोटर्स एकाडेमीका केन्द्रीय सदस्य डम्बर अधिकारीले प्रतियोगिताको शुभकामना व्यक्त गरेका थिए।





