काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताउनुभएको छ ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताउनु भयो ।
उहाँले इस्यु पायौँ भन्ने हिसावले केही समूहरुहरुले बिरोध शुरु गरिसकेको बताउनु भयो । आफूले आइडोलोजी नभइ देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गर्नुभयो । वर्षौं लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै उहाँले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गर्नुभयो । लोकतन्त्र दुनियाँको सबैभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताउनु भयो ।