टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम तीन चरणमा, वैशाख २४ भित्रै निर्माण सकिन्छः उपप्रधानमन्त्री सिंह


६ चैत्र २०८१, बिहीबार १३:१२ मा प्रकाशित


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने बताउनुभएको छ ।

बिहीवार निर्माणाधिन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुग्नुभएका उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम अघि बढाइएको बताउनु भयो ।

उहाँले त्यसका लागि तीन चरणमा निर्माणको काम अघि बढाइएको बताउनु भयो । फ्लड लाइट जडान र १० सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताउनु भयो । 

निरीक्षणका लागि पुग्नुभएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले पहिलो मन्त्रीपरिषद्को बैठकबाट नै क्रिकेट मैदान निर्माणको निर्णय गरेर अघि बढेकाले समयभित्रै सकिने दाबी गर्नुभयो । उहाँले समयमै निर्माण सकिसक्न तीन चरणमा काम भइरहेको जानकारी दिनुभयो । 

२०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र र ६ वटा फ्लड लाइट जडान गर्ने सरकारले काम अघि बढाइरहेको मन्त्री द्वयको भनाइ छ । फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ ।

 मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो । फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here