श्रष्टालाई सम्मान गर्दै शुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन


२ चैत्र २०८१, आईतवार १०:२९ मा प्रकाशित

झापा । विश्वभरका नेपाली प्रतिभाहरु प्रतिष्पर्धा हुने दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको पूर्व क्षेत्रका लागि तय भएको अडिसन शनिवार शुरु भएको छ ।

सयौं प्रतिष्पर्धीहरुको भीडभाडका बीच पूर्वका दुई श्रष्टाहरु बरिष्ठ गीतकार शिवशंकर थापा र बरिष्ठ गायक कुवेर राईसहित आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर गरेका थिए ।

सो अवसरमा अध्यक्ष अधिकारीले नेपाली संगीत क्षेत्रमा स्थापित श्रष्टा द्धयलाई पुष्पगुच्छा एवं नगद रकमले सम्मान गरेका थिए । सो अवसरमा अध्यक्ष अधिकारीले कलाकारहरु समाजका अगुवा हुने हुनाले समाजलाई उदाहरण बनेर डोहोर्याउन आग्रह गरे ।

उनले नेपालीपन र नेपाली पहिचानलाई विश्वभर रहेका नेपालीजनमा जीवन्त राख्न, अर्को पुस्तामा पनि नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न र विश्वभरका नेपालीलाई नेपाली कला संस्कृतिका माध्यमबाट नेपालसंग जोड्नका लागि यी दुई रियालिटी शोहरु आयोजना गरिएको बताए ।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स पूर्वी क्षेत्र अडिसनका संयोजक रुपक ओडारीले दिएको जानकारीअनुसार, सो क्षेत्रमा दुवै शोका लागि ११ सय ४३ प्रतिभाहरुले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएका छन् । पहिलो दिन शनिवार विर्तामोडको ग्रीन फिल्ड स्कूलमा विहान ११ बजेदेखि शुरु भएको अडिसनमा ६ सयको हाराहारीमा प्रतिभाहरुले प्रतिष्पर्धा गरेका छन् ।

बांकी प्रतिष्पर्धीहरुले आइतवार सहभागिता जनाउने छन् । आयोजक संस्थाका राजेश घतानीका अनुसार, इच्छुक प्रतिभाहरुले सिधै अडिसनस्थलमै गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरुको संख्या बढेको छ ।

उनका अनुसार, गायनमा प्रतिष्पर्धीहरुको संख्या धेरै भएकाले प्रिअडिसनमा छनौट भइसकेपछि अडिसनमा सहभागी गराइएको र त्यसबाट पनि छनौट भएकाहरुलाई फाइनल अडिसनमा लगी अन्तिम छनौट गरिएको छ ।

नृत्यको लागि भने प्रि अडिसन र फाइनल अडिसन गरी दुई चरणमा प्रतिष्पर्धीहरुको छनौट प्रक्रिया निर्धारण गरिएको उनले बताए । संसारभरका नेपाली प्रतिभाहरु बीच प्रतिष्पर्धा गराउने यी दुई रियालिटी शो हरुको लण्डन, पोर्चुगल,अष्ट्रेलिया, जापान, थाइल्याण्ड, हंगकंग, दुवई, कतार, मुम्वाई र सिलिगुडीका अडिसनहरु सम्पन्न भइसकेका छन् । नेपालमा पनि पोखरा र नेपालगञ्जका अडिसनहरु समापन भएका छन् भने विर्तामोडपछि चैत्र १६ र १७ गते काठमाडौंमा अडिसन हुने बताइएको छ ।


प्रथम हुनेले हालसम्मकै सर्वाधिक पुरस्कार राशी एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख रकम पाउने यी दुबै शोहरुमा संसारभरबाट एकसय २० जना गायनमा र त्यत्ति नै संख्यामा नृत्यमा प्रतिभाहरु छनौट गरेर काठमाडौं लगिने आयोजकले जनाएको छ ।

दुबै रियालिटी शोहरु नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रसारित हुने छन् भने मेरो भ्वाइस युनिभर्सलाई विशाल भण्डारी र विशाल अर्यालले तथा मेरो डान्स युनिभर्सलाई मोसमी गुरुंगले निर्देशन गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here