बिर्तामोड । देव वाँस्कोटा, होप फर चिल्ड्रेन बिर्तामोड परियोजना तथा मेची आँखा अस्पताल, बिर्तामोड ३ को संयुक्त आयोजनामा बिर्तामोड ६ स्थित बुट्टाबामीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका ४५० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
आँखा परीक्षण शिविरमा विद्यार्थीहरूको दृष्टि क्षमता मापन गरिनुका साथै विभिन्न आँखा सम्बन्धी समस्या पहिचान गरिएको थियो । परीक्षणका क्रममा गम्भीर समस्या देखिएका विद्यार्थीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको आयोजक संस्थाले जनाएको छ ।

विद्यालय उमेरका बालबालिकाहरूमा हुने दृष्टि समस्याहरू पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउने उद्देश्यसहित आयोजना गरिएको यो शिविरबाट विद्यार्थीहरू लाभान्वित भएको विद्यालयका प्रधानाध्यापक दिपक लुईटेलले बताउनुभयो । साथै, उहाँले यस्ता स्वास्थ्य शिविरहरू निरन्तर आयोजना गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले संथाले सञ्चालन गर्दै आएको कामहरु निकै प्रसंशायोग्य रहेको बताउनुभयो । उहाँले वालवालिकाहरुको स्वास्थ्यलाई लक्षीत गरि सञ्चालन गरिएको एक दिने निशुल्क आँखा शिविर कार्यक्रमबाट धेरै विद्यार्थीहरुले फाईदा लिएको बताउनुभयो ।

कार्यक्रममा मेची आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरू तथा होप फर चिल्ड्रेनका प्रतिनिधिहरू को सहभागिता रहेको थियो । होप फर चिल्ड्रेन परियोजना बिर्तामोड शाखा संयोजक सुजता विकले बिर्तामोड ४ र ६ मा रहेका बालबालिकाहरुको शिक्षा स्वास्थ्य लगायत उनीहरुको चौतर्फी विकासमा यस संस्थाले सँधै सहयोग गरिरहेको बताउनुभयो ।

उहाँले होप फर चिल्ड्रेन संस्थाले वालबालिकाहरुलाई निशुल्क ट्युसन कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले यस संस्थाले समय समयमा बालबालिकाहरुको शिक्षा तथा चरित्र निमार्ण गर्ने जस्ता जनचेतनामुलक कार्यक्रमहरुको सञ्चालन गरिरहेको बताउनुभयो ।
आयोजक संस्थाले भविष्यमा पनि विद्यार्थीहरूको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, समाजसेवी, अभिभावक तथा सञ्चारकर्मीहरुको वाक्लो उपस्थिीति रहेको थियो ।