काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध हातपातको घटनामा संलग्नलाई कानुनी कारवाही गर्न जवाफदेहिता निगरानी समितिले माग गरेको छ ।
मुद्दाको पक्षलाई प्रतिनिधित्व गरेकै कारण काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता तथा जवाफदेहिता निगरानी समितिका सदस्य त्रिपाठीमाथि हातपात भएको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले उक्त घटनाको निन्दा गरेको छ ।
यो घटना एउटा कानूनव्यवसायीमाथि मात्र लक्षित नभई कानूनी शासन, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाविरुद्धको घटना भएकाले यस्ता घटनामा शून्य सहनशीलता अपनाउन सम्बन्धित सबै निकायलाई निगरानी समितिले आह्वान गरेको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध भएको आपराधिक कार्यमा संलग्न सबैलाई तत्काल कानूनी कारवाही गर्न र जुनसुकै कानूनव्यवसायीले आफ्नो मुद्दाको पक्षलाई निर्धक्क प्रतिनिधित्व गर्न सक्ने वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग निगरानी समितिले माग गरेको छ ।
बुधबार काठमाडौं जिल्ला अदातल परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।