न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान


३ माघ २०८१, बिहीबार १२:३४ मा प्रकाशित

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रश्तावित दामोदर खड्काको संसदीय सुनुवाई शुरु भएको छ ।


बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काको संसदीय सुनुवाई प्रारम्भ गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान समेत गरेको छ ।

खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ । समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रश्तावित दामोदर खड्काको नाम प्रश्ताव गरी संसदीय सुनुवाई हुन न्याय परिषद्बाट समिति समक्ष पुस २९ गते आएको बताउनु भयो ।

संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमार्फत सार्वजनिक गर्न प्रश्ताव गर्नुभयो ।

प्रश्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ । समिति सभापति न्यौपानेले सुनुवाईको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रश्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यमबाट संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफाअनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । 

समितिको बैठक अर्को सूचना जारी भएपछि बस्नेगरी आजको बैठक स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here