कानुन अभावमा चिया क्षेत्रले गैह्रकृषि अवरोध भोग्नु परेको सरोकारवालाको दुखेसो


२२ पुष २०८१, सोमबार १९:१६ मा प्रकाशित

झापा । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षण पत्र बुझाएपछि सांसद शर्माले सो प्रतिवद्धता जनाएका हुन् । झापा १ बाट निर्वाचित सांसद शर्मालाई धुलाबारीमा चिया सरोकारवालाहरुको टोलीले चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा समन्वय गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका थिए । चिया सरोकारवालाले सांसद शर्मालाई चिया क्षेत्रका लागि अहिलेसम्म ऐन निर्माण नभएको, ऐन–कानुनको अभावमा प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च गर्न कठिनाई भएको तथा नेपाल सरकारले चिया क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणार्थ आवश्यक ध्यान नदिएको बताएका छन् । चिया निर्यातमा देखिएका समस्या बारे पनि अवगत गराइएको थियो ।

सांसद शर्माले चिया क्षेत्रका समस्यालाई आफूले नजिकबाट बुझेको हुँदा श्रमिक, किसान, उद्योगी तथा व्यवसायीका साझा समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभयो । सो अवसरमा चिया श्रमिक, किसान, उद्योगी तथा व्यवसायीका साझा समस्यालाई पहिचान गरी चार पृष्ठ लामो ध्यानाकर्षण पत्र समेत बुझाइएको छ । नेपालमा चिया रोपण भएको १ सय ६१ वर्ष पुग्दा समेत चिया ऐन निर्माण नभएको सांसद शर्मालाई अवगत गराइएको थियो । ५ अर्ब विदेशी मुद्रासहित वार्षिक करिब १३ अर्ब बढीको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको प्रादेशिक चिया समन्वय समितिका सदस्य तथा नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहाललको भनाई छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले ऐन कानुनको अभावमा चिया क्षेत्रले गैह्कृषि अवरोधहरु भोग्नु परिरहेको बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here