झापा । आगामी माघ ४ गतेदेखि झापाको धुलाबारीमा दोस्रो मेची महोत्सव हुने भएको छ ।
धुलाबारीस्थित पूर्व बस स्टेण्ड उत्तरको खाली जमिनमा महोत्सव आयोजना गरिने आयोजक मेची चेम्बर अफ कमर्सले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । माघ १२ गते सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता दिइएको आयोजक समितीका अध्यक्ष रविन कुमार बस्नेतले जानकारी दिनुभयो । स्थानीय स्तरमा उत्पादित कृषि, फलफुल, तरकारी, अन्नबाली र उद्योगहरुको उत्पादन प्रदर्शनीमा राखिनेछ । ‘हाम्रो क्षेत्रमा कृषि उपज छन, साना साना उद्योग सञ्चालन छन तिनिहरुको बजारमा पहुँछ छैन,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘यो महोत्सवमा त्यस्ता कृषि उपज र उद्योगबाट उत्पादित सामग्रीको बजारसंग सिधा सम्पर्क गराउने दिगो व्यवस्था मिलाउँछौं ।’ उहाँले कुलतबाट जोगाउन विद्यार्थीहरुलाई महोत्सवमै सचेतना कार्यक्रममा सञ्चालन गर्ने तयारी समेत गरेको बताउनुभयो ।
३६ वटा स्टल रहने महोत्सव अवधिभर स्वास्थ्य शिविर, कृषि उपजको प्रर्दशनी तथा बिक्रि, विभिन्न जातजातिको झाँकी प्रस्तुति, गितसंगीत क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न खेलकुद र मेचीनगरका पर्यटकीय क्षेत्रको प्रर्वद्धन कार्यक्रम समेत राखिएको चेम्बरका महासचिव प्रकाश खड्काले बताउनु भयो ।
महोत्सवमा करीब ६ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको महासचिव खड्काले बताउनुभयो । उहाँले संस्थाको २१ जना कार्यसमिति, आजिवन सदस्य र साधारण सदस्य गरी १०८ जना रहेकाले सबैले एक हजारका दरले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । त्यस्तै अन्य सहयोगीबाट करीब दुई लाख संकलन गरिने र मेचीनगर नगरपालिकाबाट न्युनतम तीन लाखको अपेक्षा गरेको खड्काले बताउनु भयो । ‘हामीले नगरपालिकासंग ठुलो अपेक्षा राखेका छौं,’ पत्रकार सम्मेलनमा खड्काले भन्नुभयो, ‘यस क्षेत्रलाई आर्थिक रुपमा चलायमान बनाउन नगरपालिकाले सहयोग गर्छ भन्ने विश्वास छ ।’