बिर्तामोडका पूर्वमेयर शिवाकोटीविरुद्ध अदालतमा अभियोग पत्र दायर


१९ पुष २०८१, शुक्रबार १९:०६ मा प्रकाशित

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।


सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई आज अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता रुद्र आचार्यले जानकारी दिनुभयो ।

अभियोग पत्र दर्ता भइसकेको बताउँदै जिल्ला अदालतका स्रेस्तेदार किरणकुमार सिंहले भोलि शनिवार विदा परेकाले आइतवार आरोपितसंग बयान लिएर थुनछेक बहस शुरु गरिने जानकारी दिनुभयो ।


इलाका प्रहरी कार्यालय अनारमनीले उनलाई पक्राउ गरेकै दिनदेखि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राखेको थियो । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

बीएण्डसी अस्पतालमा रहेकै बेला शिवाकोटीसंगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको थियो । प्रहरीले गत वुधबार नै सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here