काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीले उच्च मनोबलका साथ काम गर्न नसक्दा जनतालाई प्रभावकारी सेवा दिन नसकेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो ।
उहाँले संविधानमा भएका हक र अधिकार तथा ऐन र कानूहरुको कार्यान्वयन गर्ने माध्यम कर्मचारीतन्त्र भएपनि कर्मचारीहरु प्रेरित, सक्षम, पारदर्शी र व्यवसायिक नभएको कारण कार्यान्वयनमा समस्या भइरहेको बताउनु भयो ।
जुन पद्धतिबाट कर्मचारीतन्त्र सञ्चालन गर्नुपर्ने हो त्यो पद्धतिबाट सञ्चालन गर्न नसक्दा विकृतिहरु बढ्दै गएको उहाँको भनाइ छ । उहाँले प्रदेश र संघकै कानूनहरु बाझिदा स्वयं कर्मचारीहरुले समेत समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।
कर्मचारी समायोजनको पद्धति नबन्दा धेरै कर्मचारी समायोजनमा समस्या भइरहेको उल्लेख गर्दै उहाँले संघीय निजामति विधेयक टुंगोमा पुगे केही सहज हुने बताउनु भयो ।