काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरुले बाँकी भुक्तानी पाउने दाबी गर्नुभएको छ ।
१७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिवार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै मन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । उहाँले निर्माण क्षेत्र बिना विकास निर्माणका कामहरु अघि बढ्न नसक्ने उल्लेख गर्दै निर्माण व्यवसायीहरुको भुक्तानी प्रक्रिया अघि बढाउनका लागि आफूले शुक्रवार नै हस्ताक्षर गरिसकेको बताउनु भयो ।
उहाँले असोजको बाढी पहिरोले निर्माण सामग्री उत्पादन र आयातमा समस्या भइरहेकोप्रति सरकार गम्भीर रहेको बताउनु भयो ।
निर्माण व्यवसायीहरुका समस्या छिटै समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले समयमै राज्यले निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा अहिलेको समस्या आएको जिकिर गर्नुभयो ।
मन्त्री दाहालले आगामी बजेट बनाउनुपूर्व नै पूर्वतयारीका साथ योजनाहरु बनाएर काम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । खरिद नियमावली १३ औं संशोधनमा भएका कमजोरीलाई पनि मिलाएर लैजाने बताउनु भयो । खरिद ऐनले धेरै समस्यामा पारेको उल्लेख गर्नुभयो ।
उहाँले वन ऐन, राष्ट्रिय निकुञ्ज ऐनले विकास निर्माणका काममा बाधा पारेको बताउनु भयो । समयमै काम सम्पन्न गर्ने कुरामा प्रतिवद्धता निर्माण व्यवसायीहरुले जनाउनुपर्ने बताउनु भयो ।