एनपिएलः नरेन साउदको उत्कृष्ट बलिङसँगै सुदूरपश्चिमको दोस्रो जित


२० मंसिर २०८१, बिहीबार १६:४३ मा प्रकाशित

नरेन साउदकोको उत्कृष्ट बलिङमा काठमाडौं गुर्खाजलाई ७३ रनले  हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार दोस्रो जित निकालेको छ । 


जितको लागि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ५ बलमा पूरा विकेट गुमाउँदै ९४ रनमा समेटियो । मात्र ४९ रन जोड्दा ४ विकेट गुमाइसकेको काठमाडौंले शुरूवात राम्रो गर्न सकेन । माइकल लेभिट ५ रनमा, शंकर राना ३ रनमा र भीम सार्की एवं जेराड इरामस १०/१० रनमा आउट भए । लगत्तै सुमित महर्जन पनि १४ रन बनाएर पाँचौ विकेटको रूपमा पेबिलियन फर्कंदा काठमाडौं थप दबाबमा आयो ।

पाँच विकेट गुमाउँदा ७४ रन बनाएको काठमाडौं यसपछि पनि सम्हालिन सकेन । यसपछि मात्र १२ रन जोड्ने क्रममा काठमाडौंले ५ विकेट गुमायो । स्टेफन इस्किनाजी ३७ रन र रसिद खान पनि २ रनमा आउट हुँदा काठमाडौं हार नजिक पुगेको थियो । लगतै प्रतिक श्रेष्ठ ८, हिटर करण केसी १ रनमा र साहब अलाम १ रनमा आउट हुँदा काठमाडौं ९४ रनमा समेटियो । बलिङमा नरेन साउद नायक बने । उनले ३ ओभर ५ बल बलिङ गर्दै मात्र १९ रन खर्चेर ५ विकेट लिए । अविनाश बोहराले २ विकेट हात पारे । 


यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । सुदूरले ओपनर सेफ जेबलाई ११ रनमा गुमायो । पहिलो विकेट गुमाउँदा सुदूरपश्चिमले १७ रन बनाएको थियो । यसपछि दोस्रो विकेटको लागि विनोद भण्डारी र ब्राण्डन मकमलेनले ८६ रनको साझेदारी गर्दै इनिङ्स उकासे । यो क्रममा ब्रान्डनले अर्धशतक प्रहार गरे । ३१ बलको सामना गर्दै ३ चौका र ४ छक्कासहित उनले ५० रन पूरा गरे । ५३ रन बनाएर उनी आउट भए ।

लगतै ३५ रन बनाएका विनोद भण्डारी तेस्रो विकेटको रूपमा पेबिलियन फर्किए । लगत्तै रोहन मुस्तफा ४ रनमा र आरिफ शेख ३ रनमा आउट भए । ५ विकेट गुमाउँदा सुदूरपश्चिमले १३३ रन बनाएको थियो । यसपछि दीपेन्द्र सिंह ऐरीले २५ बल खेल्दै ३ चौका र २ छक्कासहित ४३ रनको पारी खेले । उनी करणको बलमा लेभिटद्वारा क्याच आउट भए । यसपछि सुदूरपश्चिमले बाँकी ८ बलमा मात्र ५ रन बनायो ।

बलिङमा रसिद खानले २ तथा करण केसी, साहब अलाम र जेराड इरासमसले समान १÷१ विकेट लिए । यो जितसँगै सुदूरपश्चिमले ४ अंक बनाएको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई हराएको थियो । तेस्रो खेल खेलेको काठमाडौंको यो दोस्रो हार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here