काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताउनुभएको छ ।
बिहीवार त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरुले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्युनिकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अनुकुलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले भुगोल केन्द्रिय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरुको पहिचान गर्दै सोहीअनुरुप अनुकुलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्वन गर्न सहयोग पुग्ने दाबी गर्नुभयो ।
उहाँले विभिन्न देशहरु सम्मिलित भइ गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौति सामना गर्न सहज हुने अपेक्षा रहेको बताउनु भयो ।