युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने


६ मंसिर २०८१, बिहीबार ११:०० मा प्रकाशित


काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।


विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको टोली बीच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसंघका सहमहासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल नेतत्वको टोली सहभागी थियो । छलफलमा युएनडिपीले नेपालमा सञ्चालित कार्यक्रमको समिक्षा गर्दे आगामी दिनमा नेपाललाई दिने विशेष कार्यक्रम सम्बन्धमा कुराकानी भएको सचिव खरालले जानकारी दिनुभयो ।  

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम व्यूरो निर्देशक समेत रहनुभएका मार्कोसले दुईपक्षीय भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३) बनाउने तथा कार्यान्वय योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिनुभयो ।

भेटवार्ता पछि बाकुस्थित न्युज एजेन्सी नेपालका प्रतिनिधि कृष्णा पौडेललाई संक्षिप्त प्रतिक्रिया दिँदै  सहमहासचिव मार्कोसले नेपालको सम्मुन्नत विकासमा युएनडिपीले नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सधै तयार रहेको बताउनु भयो । साथै नेपालले हिमालको मुद्दा र हानि नोक्शानीको मुद्दालाई जोडका साथ उठाएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले जलवायु अनुकुलन कार्य, हानी नोक्शानी तथा पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार लगायत क्षेत्र युएनडिपिको प्राथमिकताको क्षेत्र भएकोले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले विशेष गरेर जलवायु प्रतिवद्धता, स्केला लगायत कार्यक्रमहरुलाई नेपाल सरकारसंगको सहकार्यमा सञ्चालन गरिने बताउनु भयो ।


युएनडिपिले राष्ट्रिय जैविकविविधता रणनीति र कार्य योजना बनाउन  नेपाल सरकारलाई सहयोग गरिरहेको छ । नेपालस्थित युएनडिपी कार्यालयले विभिन्न कार्यक्रम तथा परियोजना मार्फत नेपालको समग्र विकासको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here