प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१ औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदका कुरा गरिरहनुपर्ने अवस्था दुःखद् रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानिसको ‘इनहेरेन्ट डिग्निटी’ (अन्तर्निहित मर्यादा) र आत्मसम्मान नै सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्नुभएको हो ।
महानिरीक्षक कार्कीले सुरक्षालाई केवल भौतिक सुरक्षाको रूपमा मात्र नहेरी ‘मानवीय सुरक्षा’ को वृहत रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार भ्रुणको रक्षादेखि बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण सुरक्षाको प्रत्याभुति गर्नु राज्यको मूल दायित्व हो ।
उहाँले कानूनमा व्यवस्था भएपनि त्यसको व्यावहारिक कार्यान्वयनका लागि व्यक्ति, संस्था र समग्र राज्य संरचना नै जिम्मेवार हुनुपर्ने बताउनु भयो । प्रहरी महानिरीक्षक कार्कीले दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनाहरूमा रहेका ‘बोटलनेक’ (अवरोध) हरू खुला गर्नुपर्ने बताउनु भयो ।
न्यायमा पहुँचको कुरा गर्दा संस्कार, संस्कृति, शिक्षा र व्यवहारगत पक्षहरूमा सुधार ल्याउनुपर्ने उहाँको तर्क छ । महानिरीक्षक कार्कीले प्रहरी पनि समाजकै संरचनाबाट बनेको हुनाले कानून कार्यान्वयनमा सकारात्मकता ल्याउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
न्यायको पहुँचका लागि नयाँ बन्ने कानून र संसदले पनि विशेष ध्यान दिनुपर्ने उहाँले औँल्याउनु भयो । राज्यका खास–खास ठाउँमा पुगेका व्यक्तित्वहरूले आफ्नो कर्म र व्यवहारबाट समानताको उदाहरण पेश गर्नुपर्नेमा उहाँको जोड थियो । शिक्षाको पाठ्यक्रम निर्माण गर्दा नै नागरिकलाई समानता, न्याय र पहुँचका कुराहरू सिकाउनुपर्ने उहाँको सुझाव छ ।






