काठमाडौं । टर्किएले देशको सबैभन्दा बढी जनसंख्या भएको शहर इस्तानबुलको एसेन्युर्ट जिल्लामा २४२ अनियमित आप्रवासीलाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
सुरक्षा अपरेसन कलकन–२९ टर्की प्रहरीले माइग्रेसन व्यवस्थापन महानिर्देशनालयसँगको सहकार्यमा सार्वजनिक पार्क, होटल र प्रमुख सडक मार्गहरू लगायतका अनियमित बसाइँसर गतिविधि हुने क्षेत्रहरूलाई लक्षित गरेर अपरेशन चलाएको थियो ।
उक्त अपरेसनमा ३७० प्रहरी अधिकारी, ९३ आप्रवासी व्यवस्थापन कर्मचारी र ३१ वटा मोबाइल माइग्रेसन इकाइहरू खटाइएको थियो । यर्लिकायाले नोभेम्बरको शुरुमा घोषणा गरेअनुसार टर्की सुरक्षा बलहरूले यस वर्ष मानव बेचबिखन संगठनहरू विरुद्ध लगभग ६ हजार ३३९ अपरेशनहरू सञ्चालन गरेको र ३ हजार ९२४ अपराधीहरूलाई पक्राउ गरेको छ ।
युरोप, एशिया र मध्य पूर्व बीचको अद्वितीय भौगोलिक स्थितिका कारण टर्किएले अवैध आप्रवासन व्यवस्थापनमा ठूलो चुनौती सामना गरिरहेको छ । यो देश युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूका लागि महत्वपूर्ण ट्रान्जिट मार्ग र द्वन्द्वग्रस्त क्षेत्रहरू, विशेष गरी सिरिया र अफगानिस्तानका शरणार्थीहरूको लागि गन्तव्य र ट्रान्जिट पोइन्ट मानिन्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।