इलाम । सवारी नियम मिच्ने १३ हजार ६ सय १० सवारी साधनलाई कारबाहि गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले गत वर्ष ०७५/०७६ मा इलामको सडकमा नियम वितरित चल्ने सवारीलाई कारबाहि गरेको हो । १३ हजार छ सय १० सवारीबाट कार्यालयले ८० लाख १४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख दिलिपकुमार चौधरीले वताए । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार सवारी नियम मिच्नेमा जिप, कार, भेन रहेका छन् । एक बर्षमा ५ हजार ४ सय ९५ वटा जिप, कार, भेनले सवारी नियम मिचेको बताइएको छ । ५ हजार एक सय २२ वटा मोटरसाईकल, एक हजार ९ सय ४ वटा ट्रक, ४ सय ४० वटा बस, ६ सय ४९ वटा ट्रयाक्टरले सवारी नियम मिचेको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष ०७४/०७५ मा भने १४ हजार ९ सय ८६ सवारी साधन कार्वाहीमा परेका थिए । जसबाट ८१ लाख ९२ हजार रुपैंयाँ राजश्व संकलन भएको थियो । ट्राफिक प्रहरीको चार आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आर्थिक वर्ष ०७२/०७३ मा १५ हजार ६ सय २८ सवारी साधनले सवारी नियम मिचेको तथ्यांकमा उल्लेख छ । सो आर्थिक वर्षमा प्रहरीले ५१ लख ७० हजार ३ सय ५० रुपैयाँ राजश्व संकलन गरेको थियो । यस्तै ०७३/०७४ मा ९ हजार ६ सय ५५ ले सवारी नियम मिच्दा ५३ लाख ८२ हजार ५ सय रुपैंयाँ राजश्व संकलन भएको थियो ।
ट्राफिक प्रहरीको तथ्याङ्कले सवारी नियम मिच्ने सवारी साधन बढ्दो क्रममा देखिएको छ । तर ट्राफिक प्रहरी भने सवारी कार्वाहीमा राजश्व बढेको र ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको जनाएको छ । चार बर्षको तथ्याङ्क अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको संख्या पनि उच्च देखिन्छ । चारवर्षमा एकहजार आठ सय २५ जना रहेका छन् । जसमा सबैभन्दा बढि गत आर्थिक बर्ष ०७५/०७६ मै रहेको छ । सो आवमा ८ सय ४० जनाले मापसे गरेर सवारी चलाएको तथ्याङ्कले देखाएको छ । यता नियममा कडाइ गरेपछि सवारी दुर्घटनाका घटना न्युनिकरण भने हुँदै गएको ट्राफिक इन्चार्ज दिलिपकुमार चौधरीको भनाई छ ।





