काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि विमानस्थल मर्मतको काम गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गते (आज) देखि करिव पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको छ ।
प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ ।
जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत शुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि १० घण्टासम्म बन्द हुने भएसँगै विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछन् । प्राधिकरणले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरेको छ ।
प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मर्मत गर्ने बहाना बनाएको आरोप लागेको छ । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेर प्राधिकरणले मर्मतको बहानामा त्रिभूवन अन्तर्राष्ट्रिय बन्द गरेको आरोप छ । तर प्राधिकरणका महानिर्देशक अधिकारीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउने बताउनु भयो ।
उहाँले नेपालको प्रचलित कानूनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरित उड्डयन क्रियाकलाप वायुसेवा कम्पनीहरुले गर्न नपाउने बताउनु भयो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने बहाना भन्दा पनि बाध्यताले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन लागिएको महानिर्देशक अधिकारीको भनाई छ ।