सडक बन्द गराउदा पक्राउ परेका वडाध्यक्षसहित ६ रिहा


९ श्रावण २०७६, बिहीबार १०:५० मा प्रकाशित

खोटाङ । सडक बन्द गराउने क्रममा पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिकाका तीनजना जनप्रतिनिधि सहित ६ जना छुटेका छन् ।

चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै सोही नगरपालिकाको महादेवस्थानमा सडक बन्द गराउने दुईजना वडाध्यक्ष, एकजना वडा सदस्य र अन्य तीनजना छुटेका हुन् । छुट्नेमा नेकपाबाट निर्वाचित हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमानसिं बस्नेत, नेकपा नगर कमिटिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा कमिटि सचिव धनकुमार भुजेल छन् ।

कांग्रेसको बहुमत रहेको उक्त नगरपालिकामा चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटिले एक घण्टाका लागि बिहान ६ बजेदेखि चक्का जाम गरेको थियो । नगरपालिका भीत्रको समस्या सडकमा उतारेर सडकमा अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनको कार्यक्रम सकिएँगै आफन्तको जिम्मा लगाई छोडिएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए ।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगती समिक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्य गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएको विरोधमा नेकपाले मंगलबार नगरको कार्यालयमा धर्ना दिएका थिए । हलेसी तुवाचुङ नगरपालिकाका नगप्रमुख इवन राईले भने आन्दोलनको अर्थ नभएको बताएका छन् । ११ वडा रहेको त्यस नगरपालिकामा नगरप्रमुख, उपप्रमुख सहित ७ वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here