रवि लामिछानेलाई रिहा नगर्ने प्रहरीको तयारी, म्याद थपका लागि आज अदालतमा पेश गरिने


८ कार्तिक २०८१, बिहीबार १०:४४ मा प्रकाशित

पोखरा । सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि बिहीबार कास्की जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ ।

पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएको भन्दै प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो । यता रास्वपाले भने छ दिनसम्म जम्मा पाँच घण्टा जनि मात्रै बयान लिएर अरु समय त्यतिकै राखेको भन्दै सरकारले बदनियातपूर्ण ढंगले उनलाई थुनामा राख्ने प्रयास गरेको बताएका छन् । 

अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त शर्माको तर्क छ । रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेमाथि प्रहरीले सहकारी ठगी र संगठीत अपराधमा अनुुसन्धान गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here