रोलिङ च्यालेन्ज कपमा सम्राट स्पार्टिङको शानदार जित


५ कार्तिक २०८१, सोमबार १७:५८ मा प्रकाशित

मेचीनगर, कात्तिक ५ । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीमाथि सहज जित निकाल्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो ।

सम्राटले पश्चिम बंगालको सुकुनालाई ५–२ गोल अन्तरले हराएको हो । खेलको छैटौँ र ३८ औँ मिनेटमा सम्राट स्पोर्टिङका लागि उमेश कार्कीले गोल गरे ।
त्यस्तै, १२ औँ मिनेटमा भुवन बस्नेतले एक गोल गरे भने खेलको अतिरिक्त समयमा दोर्जे तामाङ र अञ्जन ठकुरीले एकएक गोल गरे ।

सुकुना युनाइटेडका लागि खेलको १३ औँ मिनेटमा शौरभ विश्वास र ५२ औँ मिनेटमा हेमराज भुजेलले एकएक गोल फर्काए । खेलको प्लेयर अफ द म्याच सम्राट स्पोर्टिङका दुई गोलकर्ता उमेश कार्की भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई रोलिङ क्लबका पूर्वअध्यक्ष शंकर बस्नेत र खेलप्रेमी विष्णु बुढाथोकीलगायतले नगद तथा ट्रफी प्रदान गरे ।

भोलि हुने अन्तिम क्वार्टर फाइनल खेल विराटनगरस्थित नेपाल प्रहरीको टिम र रेड हर्स एफसी इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here