पाँचथर । पशु तथा कृषि जन्य वस्तुलाई प्रर्वद्धन गर्न तथा कृषकहरुलाई उत्साहित बनाउन पाँचथरको कुम्मायक गाउँपालिकाले हाट बजारमा लाग्दै आएको निकाशी पटके तथा हाटबजार कर हटाएको छ ।
महिनाको दुई पटक सम्म पालिकाको केन्द्र यासोकमा लाग्ने बजारमा र कुम्मायक १ को चौथी बजारमा लाग्ने हाटबजार कर हटाएको गाउँपालिका प्रमुख जय बहादुर चेम्जोङले बताए । गाउँपालिकाको ०७६÷०७७ को गाउँसभाले कृषकहलाई सहज होस् भन्ने उद्धेश्यले हाटबजारमा लिइँदै आएको पटके कर लिन छोडेको गाउँपालिका उपाध्यक्ष सिता रिजाल आचार्यले बताइन् ।
पालिकाको निर्देशन भन्दा पनि गलत हिसाबबाट कर उठाइएको हुँदा त्यसले नागरिकमा भ्रम पैदा गरिएकोले पटके कर लिन छोडेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराईले बताए । गत वर्ष ३ लाख रुपैँयामा पटके करको ठेक्का लागेको थियो । कर लिन छोडेपछि कृषकहरु पनि उत्साहित बनेको स्थानिय कुम्माय ५ स्याबरुम्बाका देउमान थापाले बताए ।





